नेपालको स्वास्थ्य क्षेत्रका समस्या जटिल र बहुआयामिक छन्। पूर्वाधारको अभाव, स्वास्थ्य जनशक्तिको असन्तुलित वितरण, वित्तीय कमजोरी, सेवा गुणस्तरको कमी तथा ग्रामीण–शहरी असमानता मुख्य चुनौतीहरू हुन्। यी समस्याहरू समाधान गर्न निम्न विस्तृत तथा व्यवहारिक उपायहरू आवश्यक छ ।
१. स्वास्थ्य पूर्वाधार सुदृढीकरण
प्रत्येक प्रदेश तथा जिल्लामा स्तर (Level I–III) अनुसार सुविधासम्पन्न अस्पताल स्थापना गरिनुपर्छ। यसले राजधानी केन्द्रित स्वास्थ्य सेवाको चाप कम गर्न मद्दत गर्नेछ।
बिरामीले अनावश्यक रूपमा काठमाडौँ वा ठूला अस्पतालमा जानुपर्ने अवस्थालाई नियन्त्रण गर्न “रेफरल प्रणाली” अनिवार्य लागू गरिनुपर्छ। प्राथमिक तहबाट माध्यमिक हुँदै तृतीय तहसम्म जाने Gatekeeping प्रणाली लागू गरिनुपर्छ। रेफर गर्दा स्पष्ट कारण उल्लेख अनिवार्य गरिनुपर्छ।
ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र (PHC) तथा स्वास्थ्य चौकीहरूलाई अल्ट्रासाउन्ड, प्रयोगशाला सेवा तथा टेलिमेडिसिन जस्ता आधुनिक उपकरणसहित सुदृढ बनाइनुपर्छ।
जिल्ला स्तरसम्म ICU, NICU तथा ट्रमा सेन्टर जस्ता सेवाहरू विस्तार गरिनुपर्छ।
२. स्वास्थ्य जनशक्ति व्यवस्थापन
डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूको समान वितरण सुनिश्चित गर्न “बन्ड प्रणाली” लागू गरिनुपर्छ, जसअनुसार सरकारी छात्रवृत्तिमा अध्ययन गरेका स्वास्थ्यकर्मीले निश्चित समय ग्रामीण क्षेत्रमा सेवा दिन अनिवार्य हुनेछ।
चिकित्सा शिक्षा (MBBS, MD/DM) लाई क्रमशः निःशुल्क वा सहुलियतपूर्ण बनाउँदै विदेशी विद्यार्थीबाट दोहोरो शुल्क संकलन गरी आन्तरिक प्रणालीलाई सुदृढ गर्न सकिन्छ।
ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अतिरिक्त तलब, आवास तथा करियर उन्नतिको अवसर प्रदान गरिनुपर्छ।
निरन्तर चिकित्सा शिक्षा (CME) अनिवार्य गरिनुपर्छ। साथै “एक स्वास्थ्यकर्मी–एक संस्था” नीति लागू गरिनुपर्छ।
३. स्वास्थ्य बीमा सुधार
हालको स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउँदै रोगको प्रकृति अनुसार चरणबद्ध (१ लाखदेखि १० लाखसम्म) बीमा सुविधा प्रदान गरिनुपर्छ।
सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमालाई एकीकृत गर्दै दोहोरो सुविधा लिन नपाइने नीति लागू गरिनुपर्छ।
बेरोजगार नागरिकका लागि सरकारले निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउनुपर्छ भने रोजगारी भएका नागरिकलाई सामाजिक सुरक्षा प्रणालीअन्तर्गत सेवा प्रदान गरिनुपर्छ।
स्वास्थ्य सेवा देशभर समान रूपमा लागू गर्नुपर्छ। आर्थिक सीमितताको अवस्थामा बीमा सेवा प्रारम्भमा सरकारी अस्पतालमा केन्द्रित गर्न सकिन्छ।
४. औषधि तथा उपकरण व्यवस्थापन
औषधि व्यवस्था विभागलाई सुदृढ गर्दै नक्कली औषधि नियन्त्रण कडा बनाइनुपर्छ।
आवश्यक औषधि सूचीअनुसार सबै सरकारी अस्पतालमा औषधि उपलब्ध गराउनु राज्यको दायित्व हुनुपर्छ।
औषधिको गुणस्तर सुनिश्चित नगरी अनिवार्य रूपमा Generic नाममा औषधि लेख्न बाध्य पार्ने नीति लागू गर्नु उपयुक्त हुँदैन। त्यसका लागि गुणस्तर परीक्षण प्रणाली बलियो बनाउनुपर्छ।
औषधि तथा उपकरण खरिदमा पारदर्शिता सुनिश्चित गर्न खरिद मूल्य सार्वजनिक गर्नुपर्छ।
देशभर औषधिको एकरूप मूल्य निर्धारण गरिनुपर्छ तथा अनियमितता गर्नेलाई कारबाही गरिनुपर्छ।
५. डिजिटल स्वास्थ्य प्रणाली (E-Health)
सबै अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख (Electronic Health Record – EHR) प्रणाली लागू गरी OPD तथा IPD सेवा पूर्ण रूपमा डिजिटल बनाइनुपर्छ।
टेलिमेडिसिन सेवाको विस्तार गरी दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउनुपर्छ।
रेडियोलोजी तथा प्याथोलोजी क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) आधारित निदान प्रणाली प्रयोगमा ल्याउनुपर्छ।
६. आपतकालीन तथा ट्रमा सेवा सुधार
प्रमुख राजमार्गहरूमा ट्रमा सेन्टर स्थापना गरिनुपर्छ।
एम्बुलेन्स सेवालाई केन्द्रीयकृत गरी GPS प्रणाली तथा तालिमप्राप्त स्वास्थ्यकर्मी (paramedics) सहित सञ्चालन गर्नुपर्छ।
भूकम्प, बाढी जस्ता विपद्का लागि द्रुत प्रतिक्रिया टोली (Rapid Response Team) तयार राख्नुपर्छ।
७. सार्वजनिक स्वास्थ्य तथा रोकथाम
खोप, पोषण तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरूको देशव्यापी स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनुपर्छ।
सुर्तीजन्य पदार्थ तथा लागुऔषध नियन्त्रणका लागि कडा नीति लागू गरिनुपर्छ, साथै जनचेतना अभिवृद्धि गरिनुपर्छ।
८. निजी तथा सरकारी सहकार्य (PPP मोडेल)
निजी क्षेत्रसँग सहकार्य गरी मुटु, क्यान्सर जस्ता विशिष्ट सेवाहरू विस्तार गर्नुपर्छ।
PPP मोडेलमार्फत अत्याधुनिक परीक्षण सेवा (जस्तै PET स्क्यान) उपलब्ध गराउनुपर्छ।
स्वास्थ्य पर्यटन (Health Tourism) प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरका सेवाहरू विकास गर्न सकिन्छ।
९. स्वास्थ्य क्षेत्रमा सुशासन
अस्पतालहरूको कार्यसम्पादन सार्वजनिक गर्न पारदर्शिता पोर्टल स्थापना गरिनुपर्छ।
बिरामी प्रतिक्रिया प्रणाली लागू गरी सेवा गुणस्तर मूल्यांकन गर्नुपर्छ।
भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र अनुगमन निकाय गठन गरिनुपर्छ।
योग्यता आधारित (Merit-based) नियुक्ति प्रणाली लागू गरिनुपर्छ।
१०. चिकित्सा शिक्षा सुधार र क़ानुन
चिकित्सा शिक्षण संस्थाहरूको गुणस्तर नियन्त्रण कडा बनाइनुपर्छ।
ग्रामीण क्षेत्रमा अनिवार्य इन्टर्नशिप व्यवस्था गरिनुपर्छ।
नेपालमै सुपर–स्पेशालिटी तालिम विस्तार गरिनुपर्छ।
आवश्यक स्वास्थ्यसम्बन्धी कानुनहरू (जस्तै अंग प्रत्यारोपण, स्वास्थ्यकर्मी सुरक्षा, इक्षावरण मृत्यु कानून) निर्माण गरिनुपर्छ ।
११. वित्तीय लगानी वृद्धि
स्वास्थ्य क्षेत्रमा GDP को कम्तीमा ५–७ प्रतिशत लगानी गर्नुपर्छ ।
विदेशी सहयोगमा निर्भरता घटाई आन्तरिक स्रोतबाट बजेट वृद्धि गर्नुपर्छ ।
१२. बिरामी सुरक्षा तथा सेवा गुणस्तर
Standard Treatment Protocol (STP) लागू गरिनुपर्छ।
ICU तथा OT मा संक्रमण नियन्त्रण प्रणाली कडा बनाइनुपर्छ।
बिरामी प्रतिक्रिया प्रणालीलाई प्रभावकारी बनाउँदै कमजोर सेवा दिने संस्थाहरूको अनुगमन तथा सुधार गर्नुपर्छ।
निष्कर्ष
नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्न नीतिगत दृढता, पर्याप्त बजेट, पारदर्शिता तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य छ। यी सुधारहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्न सकेमा नेपालले विकसित राष्ट्रहरूको स्तरको स्वास्थ्य सेवा प्रणालीतर्फ महत्वपूर्ण प्रगति गर्न सक्छ।



No comments:
Post a Comment